नौ करोड महसुल उठ्यो

प्रकाशित मिति: २२ भाद्र २०७३, बुधबार

काठमाडौँ, २० भदौ । नेपाल विद्युत् प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेका पाँच हजार २०९ ग्राहकको लाइन काटेको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार यही भदौ ३ गतेदेखि सुरु भएको बक्यौता नतिर्नेको लाइन काट्ने अभियानमा सफलता मिल्दै गएको छ । काटिएका लाइनमध्ये दुई हजार ६७४ ग्राहकले भने महसुल र तोकिएको जरिवाना तिरेरै भए पनि पुनः लाइन जोडेका छन् ।

प्राधिकरणले आजसम्म रु नौ करोड ८५ लाख ७८ हजार ४९१ महसुल समेत उठाएको छ । काटिएका लाइनबाट करिब रु २४ करोड ३५ लाख महसुल उठाउन बाँकी छ । प्राधिकरणले लाइन काटिएका कुनै पनि ग्राहकलाई विद्युत् नदिन तिनका छिमेकीलाई आग्रह गरेको कार्यकारी प्रमुख मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

लाइन काटिएका ग्राहकलाई विद्युत् दिइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी प्राधिकरणले दिएको छ । यस्तै सरकारी निकायमा रहेको बक्यौता तिर्न प्राधिकरणले आग्रह गरिए पनि केहीले मात्रै सुनुवाइ गरेको र धेरैले सुनुवाइ नगरेका कारण उनीहरुको लाइन काट्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको बक्यौता रु १० अर्ब बढी रहेको छ ।

सहायक विदेशमन्त्रीको भ्रमण सम्पन्न

काठमाडौँ, २२ भदौ । नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्यएसियाका लागि अमेरिकी सहायक विदेशमन्त्री निशा विश्वालले आज आफ्नो दुईदिने नेपाल भ्रमण सम्पन्न गर्नुभएको छ ।

यहाँस्थित अमेरिकी दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार भ्रमणका क्रममा सहायक विदेशमन्त्री विश्वालले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अन्य सरकारी अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।

भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीच रहेको सहकार्यको निरन्तरता एवम् भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको प्रगतिको अवलोकन गर्नाका साथै द्विपक्षीय हित र चासोका बारेमा छलफल गरिएको थियो ।

“नेपालमा लोकतान्त्रिक पद्धतिको स्थापनाबाट समावेशी संरचना र व्यवसाय उपयुक्त वातावरणको निर्माण गर्दै विकास र पुनःनिर्माणका केन्द्रित हुन अमेरिकी सरकार नेपाली जनता र नेपाल सरकारसँग नजिकबाट सहकार्यलाई निरन्तरता दिने” सहायक विदेशमन्त्री विश्वालको भनाइ रहेको दूतावासले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट