जाजरकोटले विवरण पेस नगर्दा रेबिज भ्याक्सिन रोकियो

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

जाजरकोट, ६ असोज । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले प्रगति विवरण नपठाएपछि रेबिज विरुद्धको भ्याक्सिन जिल्ला अस्पतालमा आएको छैन ।

जिल्ला स्वास्थ्य कार्यालयमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा दैनिक कुकुर तथा स्यालले टोकेका बिरामी आएपनि रित्तो हात फर्कने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रगति विवरण पठाउन ताकेता गरेपनि स्वास्थ्य कार्यालयले पठाउन ढिला गरेको छ । अहिले जिल्ला स्वास्थ्य कार्यालयमा एउटा पनि रेबिजविरुद्ध लगाउने भ्याक्सिन नहुँदा बिरामी मर्कामा परेको खोपका फोकल व्यक्ति रामपुकार शाहले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आवश्यक विद्युत्को अभावमा भ्याक्सिन सदरमुकाममा राख्ने गरिएका कारण सबै बिरामी सदरमुकाममा आउने गर्दछन् । त्यहाँ नै खोप नहुँदा दैनिक रित्तो हात फर्कने गरेको पाइएको छ । सक्ला–१ लैखमका धनबहादुर खत्रीलाई बहुलाएको कुकुरले टोकेपछि एक दिन हिँडेर सदरमुकाम आएपनि भ्याक्सिन नहुँदा रुकुमको चौरजहारीमा गएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयले कहिले प्रगति विवरण पठाउने हो अनि कहिले भ्याक्सिन आउने हो अन्यौल भएको एक स्वास्थ्यकर्मीले बताए। औषधिको स्टोर सम्हाल्दै आएका लमबहादुर खड्काले समेत प्रगति विवरण नपठाएका कारण समस्या भएको बताए ।

यसभन्दा एक महिनाअघि सर्पदंशको औषधि लुकाएर बिरामी रुकुमको चौरजहारी अस्पतालमा जिल्ला स्वास्थ्य कार्यालयले नै रिफर गरेको थियो । यसको समाचार प्रकाशन भएपछि चौरजहारी अस्पताललाई जाजरकोट स्वास्थ्य कार्यालयले नै सर्पदंशको औषधि दिन बाध्य भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट