ठूलो परिमाणका लागुपदार्थसहित ५ पक्राउ

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

विराटनगर, ६ फागुन । शुक्रबार अपराह्न अन्तर्राष्ट्रिय बजारमा करोडौँ मूल्य पर्ने ठूलो परिमाणका लागुपदार्थ चरेससहित पक्राउमा परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिहीबार अपराह्न विराटनगरको एक होटलबाट सूचनाको आधारमा ५१ किलो ४०० ग्राम चरेससहित पक्राउमा परेका मकवानपुरको टिस्टुङ–५ बस्ने १८ वर्षीय प्रतापसिंह गोले र १९ वर्षीय वुद्ध बम्जन, काभ्रेपलाञ्चोकको नयाँगाउँ देउपुर–४ बस्नेद्वय वर्ष १८ को राम गुरुङ, वर्ष १७ को अरुण गुरुङ र धादिङको भुमेस्थान–१ बस्ने वर्ष १८ को मिलन राउतलाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

उनीहरुले चार वटा चरेसको प्याकेट बनाएर चारवटा सुटकेसमा फ्ल्स बटम बनाएर लुकाएर राखेका थिए । काठमाडौँबाट चरेससहित बिहीबार उनीहरु एक होटलमा आराम गर्न बसेका थिए ।

जोगबनी भएर भारतको कोलकत्ता बिहीबार नै जाने सुरसारमा रहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएके छ ।

उनीहरुको साथबाट रेलको टिकट, पाँच थान मोबाइल, भारतीय मुद्रा १४ हजार ४००, नेपाली मुद्रा रु एक हजार र पाँच थान नेपाली नागरिकताका साथै बस चढेर काठमाडौँबाट विराटनगर आएका पाँच थान टिकट बरामद गरिएको छ ।

सो लागुपदार्थ चरेसको नेपाली बजारमा अनुमानित प्रतिकिलो रु ३० देखि ४० हजार, भारतीय बजारमा प्रतिकिलो रु ६० देखि ७० हजार र जापानमा प्रतिकिलो रु तीन लाखभन्दा बढी पर्ने गरेको प्रहरी उपरीक्षक भण्डारीले जानकारी गराउनुभयो ।

उनीहरुमाथि आजै लागुपदार्थ ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट