इन्टरनेट नचल्दाँ सदरमुकाम धाउन बाध्य प्राविधिक

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

सोलुखुम्बु, ६ फागुन । गाउँमा भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक इन्टरनेट नचलेपछि सदरमुकाम धाउन बाध्य भएका छन् ।

भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन् ।

प्रत्येक दिन सङ्लकन भएको तथ्याङ्क कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र सुविधा नभएकाले गाविसमा खटिएका प्राविधिक सदरमुकाम आउनुपरेको लगत सङ्कलन सम्पर्क कार्यालय सल्लेरी सोलुखुम्बुका सम्पर्क अधिकृत लोकुचाराज दासले बताए ।

इन्टरनेट नहुँदा सङ्कलन गरेको डाटा ट्याब्लेटबाट उड्ने र डिस्प्ले जानेसम्मको समस्या भोग्नुपरेको इन्जिनियर पाख्रिनको दुःखेसो छ ।

प्राविधिक समस्याका कारण काममा ढिलाइ हुनका साथै समयमा डाटा सङ्कलन गर्न कठिनाई हुने जिल्लाका अधिकांश प्राविधिकको गुनासो छ ।

भूकम्प गएको करिब २२ महिनापछि बल्ल तथ्याङ्क सङ्कलनको काम सुरु भएको जिल्लामा इन्टरनेटको समस्याले गर्दा अझ काममा ढिलाई हुने भएको छ ।

सम्बन्धित निकायकै काम ढिलो भएमा पीडितले यसवर्ष पनि सबै प्रक्रिया पूरा गरी घर बनाउन ढिला हुने गुनासो गर्न थालेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट