झापामा स्वास्थ्य बीमा कार्यक्रम हुँदै

प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

रिपोर्टर नेपाल

झापा, ६ फागुन । यही आउँदो चैत १ गतेदेखि झापामा स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीका अनुसार कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको छ । पाँचजना भएको परिवारले वार्षिक रू दुईहजार पाँचसय सेवा शुल्क तिरेर सहभागी हुन पाउने छन् ।

पाँचजनादेखि बढी सदस्य भएको परिवारले थप रू चारसय २५ अतिरिक्त तिरेर पनि सदस्य बन्ने पाउनेछन् । सदस्य भएपश्चात् सो परिवारलाई वार्षिक रू ५० हजारको उपचार खर्च प्रदान गरिने व्यवस्था रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सदस्यका परिवारले अस्पतालमा अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधिमा खर्च पाउनेछ भने कस्मेटिक सर्जरी, कृत्रिम अङ्ग, चस्मा, सुन्ने यन्त्र, लिङ्ग परिवर्तन, घरेलु झैझगडामा चोटपटक लागेका र मादक, लागुपदार्थ सेवन गरी दुर्घटना परेका परिवारका व्यक्तिले सुविधा पाउने छैनन् ।

चैतदेखि सुरु हुने कार्यक्रम चैत मसान्तसम्म सदस्य बनेका परिवारले आगामी २०७४ जेठ १ गतेदेखि यस कार्यक्रममा सहभागी हुन पाउने जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट