जाजरकोटमा विद्युत् प्राधिकरणको शाखा स्थापनाको माग

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

जाजरकोट, ५ फागुन । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले जाजरकोट सदरमुकाममा नेपाल विद्युत् प्राधिकरणको शाखा स्थापना गर्न माग गरिएको छ ।

बुधबार बसेको सर्वदलीय बैठकले सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको बेला यस्तो माग गरेको स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताए । बैठकले सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन पुगेपछि विद्युत् महसुल बुझाउन बाहिर जानुपर्ने समस्यालाई मध्यनजर गर्दै जाजरकोटमा शाखा विस्तार गर्न विद्युत् प्राधिकरणलाई माग गरेको छ ।

अहिले सञ्चालनमा रहेको साङट रिसाङ लघुजलविद्युत् आयोजनालाई केन्द्रीय लाइनमा जोड्नका लागि आवश्यक प्रक्रिया पुर्याउनसमेत वैठकले माग गरेको छ । जम्मा ९९ किलोवाट क्षमताको यो लघु जलविद्युत्ले यहाँको सदरमुकामलगायत आसपासका ठाउँमा समेत सेवा प्रवाह गर्दै आएको छ ।

भेरीमालिका नगरपालिकाको कुदुमा केन्द्रीय विद्युत्का लागि सबस्टेसन निर्माण कार्य जारी रहेको छ । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यसहित अहिले कामलाई तीव्रता दिइएको छ । यहाँको सदरमुकामलगायत आसपासका क्षेत्रमा समेत छिटो ग्रामीण विद्युतीकरणमार्फत लाइन विस्तार गरी सेवा दिन स्थानीयवासीले मागसमेत गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट