खानेपानी लिन कालीगण्डकी किनार पुग्न बाध्य

प्रकाशित मिति: २६ माघ २०७३, बुधबार

रिपोर्टर नेपाल

पर्वत, २६ माघ, । पर्वतको रानीपानी–५ इमिचौरका बासिन्दा नजिकमा पानीको स्रोत नहुँदा खानेपानीका लागि डेढ घन्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् ।

खानेपानीका नयाँ आयोजना निर्माण गर्ने पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले सम्पन्न गरेका आयोजना पनि निर्माणको केही समयमै बिग्रिएपछि स्थानीयलाई पिउने पानीको समस्या चुलिएको हो ।

तीन वर्षयता यी गाउँका करिब दुई दर्जन परिवारको दैनिकी पानी बोक्दैमा बित्ने गरेको छ । २०६७ सालमा पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर्माण गरेको लिफ्ट खानेपानी आयोजना बिग्रिएपछि स्थानीयलाई पिउने पानीकै लागि दैनिक घन्टौँ समय खर्चिनुपरेको हो ।

इमिचौर मात्रै नभएर गाविसको मुख्य बस्ती रहेको नेपाने, पस्यार, पूर्तिडाँडा, बिहादीलगायतका गाउँमा खानेपानीको चरम समस्या छ । पानी अभावकै कारण कहिलेकाहीँ स्कुले विद्यार्थी समयमा विद्यालय जान पाउँदैनन् । गाउँका अधिकांश युवा गाउँ बाहिर छन् । गाउँमा महिला र केटाकेटी मात्रै भएका कारण पानी बोक्ने मान्छेको अभावले पनि बढी समस्या सिर्जना हुने स्थानीयले बताए ।

जिल्लामा खानेपानी तथा सरसफाइ परियोजना सञ्चालन गरेको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले रानीपानीमा मात्रै २१ वटा खानेपानी आयोजना सञ्चालन गरेको छ तर स्थानीय भने पिउने पानीकै लागि दैनिक आधा समय खर्चन बाध्य छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट