युवा विदेसिएपछि रितिदै गाउँ

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

तेह्रथुम, २५ माघ । अधिकांश गाउँमा रोजगारीका लागि गाउँका युवा विदेसिन थालेपछि काम गर्ने जनशक्तिको अभाव भएको छ ।

इवाका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर इङनामका अनुसार एकपछि अर्के गर्दै गाउँका युवा रोजगारीका लागि विदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको छ । उनले भने- ‘सबै युवा विदेशिएपछि काम गर्ने मान्छे नभएर खेतबारी बाँझै छन् । यस्तै हो भने अब केही वर्षभित्रै खेतबारी जति जङ्गलमा परिणत हुन्छन् ।’

स्वदेशमा रोजगारीको अवसर नपाउँदा युवा गाउँमा भेटिन छाडेपछि गएको वर्षसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० मा पनि पाइन छाडेका छन् । युवा गाउँमा नभएपछि स्थानीय हाटबजार र मेला समेत बन्द हुन थालेको छ ।

निर्माण व्यवसायी कमल ढुङ्गानाका अनुसार भवन निर्माण, सडक खन्नेलगायत कामका लागि जनशक्ति पाइन छाडेको छ । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम लगाउनु परेको व्यवसायी बताउँछन् । बाहिरबाट जनशक्ति मगाउँदा महङ्गो पर्ने हुँदा विकास निर्माणका कामको लागत पनि बढेको छ ।

दैनिक कम्तीमा १० जनाले राहादानी लिइरहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । आर्थिक वर्ष २०६९÷७० मा ९५० जनाले जिल्लाबाटै तथा चार हजार ५९४ जनाले काठमाडौँबाट राहदानी लिने गरी सिफारिस लिएका थिए । आव २०७०÷७१ मा एक हजार २२५ जनाले जिल्लाबाट र दुई हजार पाँच हजार ७७६ जनाले काठमाडौँबाट राहदानी लिने गरी सिफारिस लिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट