बढ्दै छ झोलुङगे पुलको माग

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल

भद्रपुर, २५ माघ । समय र लागत कम लाग्ने हुँदा झापामा झोलुङ्गे पुलको माग बढेको पाइएको छ ।

जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने हुँदा यो पुलको मागमा बृद्धि भएको हो । हाल झापामा रु तीन करोड ८७ लाख ५४ हजार ३६६ लागतमा १३ वटा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

जिल्ला विकास समिति झापाका योजना शाखाका डिल्ली नेपालका अनुसार झोलुङ्गे पुल झापामा गरामनी गाविसको धरधरे खोलामा रु १० लाख १५ हजार, चकचकी गाविसको फलैन्ड टापु अधेँरी खोलामा मा रु १७ लाख १६ हजार, विर्तामोड नगरपालिकाको अदुवा खोलामा रु १२ लाख ७१ हजारमा, धाइजन गाविसको ढाक्रे खोलामा रु १५ लाख २६ हजारमा, बुधबारे गाविसको दामा खोलामा रु २८ लाख १६ हजारमा, तोपगाछि गाविसको ढ्याङ्ग्री खोलामा रु १७ लाख ३३ हजारमा, केचना गाविसको झोपुमा रु १२ लाख ४८ हजारमा, शिवसत्ताक्षी नगरपालिकाको मैनाचरी झोपुमा रु १९ लाख ५९ हजारमा, दुवागढी गाविसको हडिया खोलामा रु ६५ लाख १८ हजारमा, डागीवारी गाविसको घाग्रा खोलामा रु ४० लाख ३१ हजारमा, जलथल गाविसको काजली खोलामा रु ५७ लाख ९३ हजारमा, शानिअर्जुन नगरपालिकाको रेखा खोलामा रु ४२ लाख ९१ हजारमा र गरामनी गाविसको देउनीया खोलामा रु ४८ लाख ३२ हजार लागतमा झोलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ ।

झोलुङ्गे पुल निर्माण गर्दा समय र लागत पनि कम लाग्ने, जनता प्रत्यक्ष रुपमा बढी लाभान्वित हुने देखिपछि जिविसले पछिल्लो समयमा पक्की पुल निर्माण हुननसक्ने स्थानमा झोलुङ्गे पुल निर्माण गरेर जनतालाई सेवा प्रदान दिन खोजेको देखिन्छ ।

स्थानीय विकास अधिकारी खेमराज ओझाका अनुसार स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)को ९२ प्रतिशत, सम्बन्धित गाविस वा नगरपालिकाको ३ प्रतिशत, जिविसको ३ प्रतिशत र उपभोक्ताले २ प्रतिशत खर्च ब्यहोरेर निर्माण हुने यस्ता झोलुङ्गे पुलको झापामा थप सातवटाको माग छ ।

जिविसका अनुसार झोलुङ्गे पुल खुदुनावारी, चकचकी, गोलधाप, तोपगाछि, धरमपुर र महाभरा गाविसका जनताले माग गरेको र जनताको मागलाई पूरा गर्न अगामी आर्थिक वर्षमा योजना सुरु हुने छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट