सरकारसँग २० नयाँ गाडी माग

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

काठमाडौं, २५ माघ । २० ओटा नयाँ गाडी उपलव्ध गराउन व्यवस्थापिका संसद सचिवालयले सरकारसँग माग गरेको छ । संसदले विभिन्न दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरु चढ्ने गाडी नभएको भन्दै गाडी मागेको हो ।

संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमका अनुसार संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७३ मा व्यवस्था भए अनुसार संसदका पदाधिकारीहरु मानिएका व्यक्तिलाई गाडी चाहिएकाले माग गरिएको हो ।

हालै संसदले पारित गरेको ऐनमा १० सिट भन्दामाथि सांसद संख्या रहेका दलका प्रमुख सचेतक र प्रमुख विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकलाई गाडी सविधा दिने व्यवस्था छ ।

गाडी सुविधा पाउनेमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक र तराई मधेस लोकतान्त्रिक पार्टीका प्रमुख सचेतकहरु पर्छन् । त्यस्तै संसद सचिवालयले लेखासँगै संविधान कार्यन्वयन, महाअभियोग सिफारिस र विशेष अधिकार समितिका सभापतिका लागि समेत गाडी माग गरेको छ ।

अर्थ मन्त्रालयलाई गत कात्तिक १ गते २० ओटा गाडी व्यवस्था गर्न पत्राचार गरिएको स्रोतले जनाएको छ । तर, अहिलेसम्म कुनै प्रक्रिया भने अघि बढेको छैन । यसबीचमा मंसिर २३ गते थप २० थान गाडी उपलव्ध गराउने व्यवस्था गर्न कानुन मन्त्रालयलाई पत्राचार गरिएको थियो ।

सचिवालयले मागे बमोजिम औषत ४० लाखका २० ओटा नयाँ गाडी किन्न कम्तिमा ८ करोड लाग्ने अनुमान गरिएको छ । हाल सचिवालयमा १०५ ओटा गाडी छन्, जसमध्ये २२ ओटा लिलाम प्रक्रियामा छन् । अधिकांश गाडी ८ वर्ष पूराना रहेकाले मर्मतमै प्रति गाडी मासिक २५ हजार खर्च भइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट