धुर्मुस–सुन्तलीको कामबाट सरकारले सिक्नुपर्ने

मुसहर बस्ती पुगे महजोडी

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

बर्दिबास, २ माघ । महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले धुर्मुस–सुन्तलीको कामबाट सरकारले धेरै कुरा सिक्नुपर्ने बताएका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण कार्य थालेको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती पुगेका महजोडीले देश विदेशमा रहेका सबै नेपालीलाई यस्तो पवित्र काममा मन खोलेर सहयोग गर्न अपिल गरे ।

धुर्मुस–सुन्तलीले हाँस्यव्यंग्यमा मात्र नभई विकास निर्माणको धाराबाहिक श्रृंखला जनता सामु पस्किरहेको बताए । मदनकृष्ण श्रेष्ठ भने, ‘नयाँ पुस्ता नयाँ काममा छ । के तपाईहरुलाई शंका छ..? हाम्रो हाँस्य कलाकारिता क्षेत्रमा मान्छे (दर्शक) हँसाउने मात्र होइन, देश हँसाउने पात्र पनि छन् ।

धुर्मुस र सुन्तलीको अभियानको बेलैमा सिको नगरे नेताहरुको भोट गुम्छ ।’ हरिवंश आचार्यले धुर्मुस–सुन्तलीको विकास निर्माणको अभियानबाट सरकारले सिक्नुपर्ने ले बताए । उनले भने, ‘मदन दाइले भन्नुभयो नि..। नयाँ पुस्ताप्रति गर्व गर्छौँ । धुर्मुस र सुन्तलीबाट देश बनाउने ज्ञान सरकारले सिकुन ।’

महजोडीले धुर्मुस–सुन्तलीले थालेका देश निर्माणको काम सिङ्गो कलाकारिता क्षेत्रले गर्व गर्न लायक भएको बताए । श्रेष्ठले भने, ‘पुस २५ गते शिलान्यास गरेको एकीकृत नमुना मुसहर बस्तीको निर्माण काम पाँच दिनबीच निर्माणको काम निकै अघि बढेछ । काम कसरी अघि बढ्छ भन्ने दृष्टान्त बनेको छ ।’

५० वटा घर बनाउने लक्ष्यले सुरु गरिएको अभियानअन्तर्गत २० वटा घरको जग हालेर दण्डी ठडिएको देख्दा आश्चर्य व्यक्त गर्दै महजोडीले भने, ‘जाँगरिला हातको कमाल देखियो । धुर्मुस–सुन्तली बस्ती बनाउनुका साथै नेपालीको मन जोड्न तराई झरेका हुन् ।’
काम सुरु भएको १०० दिनमै घर हस्तान्तरण गरिने घोषणा गरिएको छ । दैनिक झन्डै २ सय कामदार खटेर जाडो मौसममा वस्ती खटेर निर्माणको काम गरिरहेका छन् ।

६५ जना गाउँले श्रमदान गरिरहेका छन् । काम गर्दै गरेका महिला दिदीबहिनीले नमस्कार गर्दा महजोडी खुशी भए । हरिवंशले दिदीबहिनीहरुसँग हात मिलाउँदै भने, ‘मन सोझिएको छ, काम सोझिएको छ ।

आउने वैशाख १ गते नयाँ वर्षमा यहाँहरु (मुसहरहरु) नयाँ घरमा सर्छन् ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट