औषधि पसल बन्द हुदा बिरामी मर्कामा

प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

धनुषा, २ माघ । जनकपुरमा तिन दिन देखि औषधि व्यवसायी सङ्घले औषधि पसल बन्द गर्दै आएको छ ।

औषधि व्यवसायी सङ्घ जनकपुर शाखाले धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको निलम्बनसहित चार सूत्रीय माग राखी शुक्रबारदेखि औषधि पसल बन्द गर्दै आएका छन् ।

गत पुस २६ गते स्थानीय जनकपुरका औषधि पसलमा धनुषाका सहायक जिल्ला अधिकारी गिरी नेतृत्वको अनुगमन समितिले अवैधानिक रूपमा तथा अनुमति बिना नै सञ्चालनमा आएको ४० श्ययाको आर्या केयर अस्पताल, प्रसूति विशेषज्ञ डा रामनरेश पण्डितको क्लिनिक, डा सोनिय सिंहको काव्य मेडिकल, जलान मेडिकललगायतका निजी अस्पताल, पोलिक्लिनिक, प्याथोलोजी ल्याब र औषधि पसलमा सिल गरेको थियो । राजस्व छलेको आशङ्कामा निजी अस्पताल र पोलिक्लिनिकका आवश्यक कागजातसमेत गरी आन्तरिक राजस्व कार्यालय, जनकपुरका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

त्यसैगरी अनुगमन टोलीले रामदेवी डेन्टल क्लिनिक, सुनैना प्याथोलोजी, मनिष मेडिलक हल, अमृत क्लिनिक, सीता फिजियो थेरापी, डिमाइन प्याथोलोजी, मुस्कान मेसिन, पपु मेडिकल हल, अमास मेडिकल हल, काव्य मेडिकल हल, अर्थोपेडिक तथा ट्रमा सेन्टरलगायतमा पनि सिलबन्दी गरेको थियो ।

जनकपुरमा पत्रकार सम्मेलन गरी जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घले विभिन्न मागसहित शुक्रबारदेखि अनिश्चितकालीन औषधि पसल बन्दको घोषणा गरेका हुन् । सङ्घर्ष समितिका संयोजक केदारनाथ पाठकले गैरकानुनी हस्तक्षेपका कारण औषधि पसल बन्द गर्नुपरेको बताए ।

जनकपुरमा रहेका ९० प्रतिशत निजी स्वास्थ्य संस्थाहरू गैरकानुनी रूपमा सञ्चालन रहेको गुनासो बढेपछि अनुगमन समितिले अनुगमन गर्ने क्रममा अधिकांश औषधि पसल र केही ठूला निजी क्लिनिक तथा निजी अस्पतालले बिना इजाजतकै करोडौँको लगानीमा कर छलीलगायतका अवैधानिक क्रियाकलाप गर्दै आएको पाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट