स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु

प्रकाशित मिति: १ माघ २०७३, शनिबार

बेनी, १ माघ । म्याग्दीको बेनी नगरपालिकासहित ३५ गाविसमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा सदस्यता दर्ता घरदैलो अभियान सुरु गरिएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दी र जिल्ला स्वास्थ्य कार्यालयको संयुक्त आयोजनामा सुरु गरिएको सो अभियानमा सर्वसाधारणको आर्कषण बढ्दै गएको अभियानमा खटिएका सहयोगीले बताए ।

स्वास्थ्य बिमा दर्ता गर्न ४३ जना दर्ता सहयोगी नियुक्त गरी उनीहरुलाई आवश्यक तालिमसहित घर–घरमा स्वास्थ्य बिमाका लागि पठाइएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले जनाएको छ ।

सर्वसाधारणको घरदैलोमै पुगेर स्वास्थ्य बिमाको महत्वका बारेमा बुझाइरहेका साथै दुर्गम क्षेत्रमा समेत सर्वसाधारणले बिमाप्रति चासो देखाउन थालेपछि अभियानमा खटिएका सहयोगीलाई सहज भएको छ ।

कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य रु ४२५ का दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७०/७१ बाट सरकारले पहिलो चरणमा नेपालका तीन जिल्ला कैलाली, बागलुङ र इलाम तथा दोस्रो चरणमा म्याग्दीसहित थप २२ जिल्लामा यो कार्यक्रम लागू गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट