डडेल्धुरामा चुरे क्षेत्र संरक्षण गर्न खोला र नदीमा तटबन्ध

प्रकाशित मिति: १ माघ २०७३, शनिबार

डडेल्धुरा, १माघ । जिल्लाको रङ्गुन नदी र अन्य खहरे खोलामा चुरे क्षेत्र संरक्षणका लागि तारजाली तथा जैविक तटबन्ध निर्माण गरिएको छ ।

पर्शुराम नगरपालिका र आलिताल गाविसमा बाढी, पहिरोका कारण चुर क्षेत्रको वनजङ्गल विनाशलाई रोक्नका लागि खहरे खोला र रङ्गुन नदीको १० किलोमिटर क्षेत्रमा तारजाली एव्म जैविक तटबन्ध निर्माण गरिएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

पर्शुराम नगरपालिकाको जोगबुढा र आलितालमा वर्षेनि वर्षायाममा बाढी पहिरोका कारण मानवबस्ती, खेत र जङ्गल बगाई विनाश हुन थालेपछि रङ्गुन नदी र अन्य खोलामा पनि तटबन्ध निर्माण गर्न लागिएको जिल्ला वन कार्यालय डडेल्धुराले बताएको छ ।

राष्ट्रपति चुरे सरंक्षण कार्यक्रमको आर्थिक सहयोगमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय धनगढी र जिल्ला वन कार्यालय डडेल्धुराले तटबन्ध निर्माण गर्ने कार्य गरिरहेको इलाका वन कार्यालय जोगबुढाले जनाएको छ ।

यो वर्ष करिब रु ५० करोडको लगानीमा रङ्गुन नदी सघन नियन्त्रण गुरुयोजना अन्तर्गत रङ्गुन नदी र खहरेखोलाको १० किलोमिटर क्षेत्रमा बाढी पहिरोबाट बचाउनका लागि तारजालीलगायत ढुङ्गागिट्टी तथा खैर, वयर र अन्य रुखसमेत लगाई जैविक तटबन्ध लगाउने कार्य भइरहेको स्थानीयले बताए ।

यो वर्ष मात्रै रङ्गुन नदीलगायत अन्य चुरेक्षेत्रका आसपासको बस्ती र खेतीयोग्य जमिनलाई बचाउनका लागि पर्शुराम नगरपालिका १२ लाढुङ्गामा पाँच किलोमिटर र वडा न–५ परिगाउँमा तीन किलोमिटर गरी करिब आठ किलोमिटर क्षेत्रमा तारजालीलगायत ढुङ्गाको तटबन्ध निर्माण कार्य सम्पन्न भएको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

तत्कालका लागि अति जोखिममा रहेका र जैविक तथा भुस्खलन क्षेत्र, बस्ती र जङ्गल बचाउनका लागि रङ्गुनलगायत अन्य चुरे क्षेत्रका खहरे खोलाको करिब आठ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गरिएको छ भने अन्य न्यून जोखिम भएका क्षेत्रमा समेत तटबन्ध लगाइने छ ।

सरोकारवालाले करोडौँको लगानीमा निर्माण भइरहेको रङ्गुन नदी सघन गुरु योजना अन्तर्गत तटबन्ध निर्माण कार्यले भित्रि मधेस क्षेत्रका बस्ती र उर्वर खेतियोग्य जमिनको संरक्षण एवम् चुरे क्षेत्रको वन जङ्गलसमेत विकास हुने बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट