मुग्लिन सडक एक दिनका लागि खुला

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

चितवन, २९ पुस । माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर हरेक दिन नियमित साढे १० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक  भोलि एकदिन खुला रहने भएको छ । शुक्रबार साँझदेखि शनिबार दिनभर मेला लाग्ने छ ।

 मेलामा टाढाटाढाबाट भक्तजन आउने भएकाले उनीहरुको हितलाई ध्यानमा राखेर भोलि माघ १ गते सडक खुला रहने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । सो सडकको विभिन्न स्थानमा पुनःनिर्माण भइरहेकाले दिउँसो बन्द गरेर काम हुँदै आएको छ ।

निर्माणाधीन सडक आगामी बैशाखमा सक्ने लक्ष्य छ । विश्व बैंकको सहयोगमा नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजना सञ्चालित छ ।

उक्त आयोजनाको लागत रु दुई अर्ब ९० करोडको छ । तीन चरणमा छवटा निर्माण कम्पनीले काम गरिरहेको छ । यो सडक साढे ९ देखि साढे ११ मिटरमा विस्तार हुनेछ । अहिलेसम्म ५० प्रतिशत काम हुनुपर्नेमा ३३ प्रतिशतमात्रै काम भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

यसैबीच, पवित्र धार्मिक तीर्थस्थल देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेलाका बेला हुने सम्भावित खतरालाई ध्यानमा राखी यहाँ रहेको पुलमा एकपटकमा करिब एक सयजनालाई मात्रै प्रवेश दिइने भएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बन्दै गएकाले भक्तजनको सुरक्षालाई ध्यानमा राखेर एकपटकमा सयजनालाई मात्रै आवतजावत गर्न दिइने बताए ।

मकर सङ्क्रान्तिका दिन चितवन, नवलपरासी र तनहुँमा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गम त्रीवेणमा माघेसङ्क्रान्ति मेला लाग्छ । मेलाको तयारी पूरा भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट