पाल्पा महोत्सव फागुन १२ देखि हुने

प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

पाल्पा, २९ पुस ।  यही फागुन १२ देखि २२ गतेसम्म पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा पाल्पा महोत्सव हुने भएको छ । पाल्पा महोत्सवका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

पाल्पामा उत्पादित वस्तु तथा सेवाको प्रदर्शन, बिक्री–वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत महोत्सवको अवधिभर प्रदर्शन गरिने छ ।

महोत्सवमा स्थानीय संस्कृतिको प्रवद्र्धन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, घरेलु उद्योग, वालन आदिको व्यवस्था रहनेछ । पाल्पा जिल्लाका ख्यातिप्राप्त लाखे नाच, फोटो प्रर्दशनी, खुल्ला तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता महोत्सवका आकर्षण हुनेछन् ।

विश्वको सबैभन्दा ठूलो पाल्पाली करुवा, ढाका कपडा, ढाका उद्योग, अदुवा र सुन्तला महोत्सवको विशेष आकर्षणका रूपमा प्रदर्शनस्थलमा राख्ने सङ्घका उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताए । महोत्सवले पाल्पा जिल्लाको आर्थिक, सामाजिक विकासमा टेवा पुग्नेछ ।

कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धन गर्दै ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचान हुने भएकाले आन्तरिक तथा बाह्य पर्यटक वृद्धि हुने लक्ष्य सङ्घले लिएको छ ।

महोत्सवमा तीनसयदेखि चारसय स्टल रहने, दुई लाख ५० हजार अवलोकनकर्ता आउने आँकलन गरिएको र रु आठ करोड बराबरको कारोबार हुने अनुमान लिएको सङ्घले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट