बर्षमा १३६ को उद्धार

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

चितवन, २७ पुस । बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एकसय ३६ जनाको उद्धार भएको छ ।

क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीका अनुसार माइती नेपालमार्फत गएको एक वर्षमा यसरी चितवनबाट एकसय ३६ जना चेलीको उद्धार गरिएको हो । ती मध्ये बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एकसय दुई जनालाई विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो भने ३४ जना जोखिममा परेकालाई उद्धार गरिएको हो ।

माइती नेपालकी मनोविमर्शकर्ता जयन्ती खनालका अनुसार केहीलाई भारतबाट समेत फर्काउन सफल भएको जानकारी दिइन । जिल्लामा अहिले माइती नेपालले सक्रीय कार्यक्रम नै सञ्चालन गरेर अभियान चलाएको छ । विभिन्न सचेतना कार्यक्रम तथा सडकमै सूचना केन्द्र स्थापना गरेर गाडीमा चेक गर्ने अनि शङ्कास्पद लागेकालाई सोधखोज गर्दा यसरी चेली फेला पर्ने गरेका छन् ।

दवाडीका अनुसार जिल्लामा गएको एकवर्षमा मुद्दा दर्ता भने न्यून भएको छ । जम्मा ६ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भएको जनाइएको छ ।

गएको एक वर्षमा जिल्लामा जबर्जस्ती करणी, घरेलु हिंसा लगायतका ४१ घटना भएको र एकसय तीनजना हराएकामा ७८ जना फेला परेको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत दवाडीको भनाइ छ ।

यस्तै, मकवानपुरमा ११ चेलीको उद्धार गरेकोमा पाँचवटा घटनामा मुद्दा दर्ता भएको जनाइएको छ । ७४ जना हराएकामा २९ जना फेला परेको माइती नेपालको तथ्याङ्कमा उल्लेख छ । उता पर्सामा १६ जनाको उद्धार भएकामा पाँच घटनाविरुद्ध मुद्दा दर्ता भएको र ८३ जना हराएकामा ३२ जना फेला परेको माइती नेपाल क्षेत्रीय कार्यालय चितवनले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट