जनताका बीच आफैँ नाङ्गिँदै सरकार

प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

दमक, २७ पुस । वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

दमकमा आज प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै सरकारको गठन प्रक्रिया माओवादी र काँग्रेसको अपवित्र गठबन्धनबाट गलत ढङ्गले बनेकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको ओलीको भनाइ थियो । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।

यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने अध्यक्ष ओलीले ठोकुवा गरे । उनले भने ‘लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफैँ नाङ्गिँदै छ ।’

‘वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गदै उनले सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्ने मात्र उद्यत भएको आरोप लगाए ।

निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउदै ओलीले भने ‘मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको छ’  ।उनले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहोर्याए ।

संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । उनले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट