विमानस्थललाई व्यवस्थित बनाउन पहल

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

चितवन, २६ पुस । पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई व्यवस्थित र सुदृढ गराएर नियमित हवाई सेवा सञ्चालनका लागि पहल गरिने प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन् ।

आज नारायणी नगरपालिका–३ बुद्धनगरमा मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गर्दै उनले नियमित उडान भएर विमानस्थल व्यवस्थित भए पर्यटन विकासमा टेवा पुग्ने बताए । सरकारी तवरबाट नीतिगत रुपमा गर्न सकिने कामका लागि आफ्नातर्फबाट सहयोग हुने उनले बताए ।

प्रधानमन्त्रीको कार्यालयबाट पहल गरि नारायणगढ–मेघौली हुँदै गोलाघाट जाने सडक छिटो स्तरोन्नति गर्ने वचन दिँदै उनले सडक पुनःनिर्माण भएसँगै मेघौली क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकसमेत बढ्ने बताए ।

वन्यजन्तुका कारण प्रभावित भएकाले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने बासिन्दा वन्यजन्तुबाट हुने क्षतिबापतको राहतका लागि अधिकतम क्षतिपूर्ति दिलाउन सरकारी तवरबाट सहयोग गरिने उनको भनाइ छ । “वन्यजन्तुकै कारण पर्यटक बढेका हुन्, वन्यजन्तुबाटै हुने मानवीय र भौतिक क्षति कम गर्नेतर्फ हामी सबै लाग्नुपर्छ ।”

कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्यामप्रसाद अधिकारी, मेघौली साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष इन्द्रबहादुर केसी, उपाध्यक्ष मीना न्यौपानेलगायतले बोलेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट