झुक्याएर प्रस्ताव दर्ता गराउने काम पद्दतिविरुद्ध

प्रकाशित मिति: २५ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

इटहरी, २५ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताएका छन् ।

इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भने, ‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’

उनले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन गर्ने काम गरेको आरोप लगाए ।

उनले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिमा संलग्न नेताहरुले गल्ती भएको स्वीकार गरेको तथ्यले पनि नेताहरुप्रति जनतामा अविश्वास बढ्न थालेको बताए ।

वरिष्ठ नेता नेपालले अन्य छिमेकी मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था निकै जटिल र कडा भएको उल्लेख गर्दै नेपालमा भने जसले जे चाह्यो त्यही अनुकूल सहज ढङ्गले नागरिकता प्राप्त गर्न सक्ने गरी संविधानमा उल्लेख गर्न पाउनु पर्छ भन्ने सवाललाई स्वीकार्य गर्न सकिँदैन भने ।

संविधानका सफल कार्यान्वयनसँगै देशले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न तथा यसको कार्यान्वयन गराउन लाग्नुपर्नेमा वर्तमान सरकार यो वा त्यो बहाना बनाएर निर्वाचनको मिति तोक्नसमेत हिच्किचाइरहेको टिप्पणी गरे ।

उनले केही नेताहरुले मधेसको नाममा गरेको राजनीतिकै कारणले चुनाव हुन सक्दैन भन्ने भ्रम रहेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट