सुदूरपश्चिममा हिमपात

प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

बैतडी, २४ पुस । बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा गएराति एक्कासी भएको मौसम परिवर्तनले वर्षासँगै  हिमपात भएको छ ।

हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्ध हुँदा गएरातिदेखि नै गाडी चल्न सकेका छैनन् भने राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा बैतडीबाट डडेलधुरा धनगढी, महेन्द्रनगर, काठमाडौं र जिल्ला भित्रिने दर्जनैँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन् ।

जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सातबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू-भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यस्तै हिमपातले सुदूरपश्चिमका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्गलगायतका सडकखण्ड अवरुद्ध भएको बताइएको छ ।

वर्षासँगैको हिमपातले अत्याधिक चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ । चिसोले बढीजसो बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट