अटेर गर्ने गैससलाई प्रहरीद्वारा ठेगान लगाइने चेतावनी

प्रकाशित मिति: २१ माघ २०७३, शुक्रबार

जुम्ला, २१ माघ । सामुदायिक विकास कार्यक्रम (सिडिपी) को सहयोगमा जिविसद्वारा बिहीबार आयोजित सहभागितामूलक समावेशी योजना तर्जुमा सम्बन्धी अभिमुखीकरणमा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले जिल्ला विकास समिति जुम्लासँगको समन्वयमा अटेर गर्ने गैरसरकारी संस्थालाई प्रहरीद्वारा ठेगान लगाउने चेतावनी दिएका छन ।

स्थानीय विकास अधिकारी बेल्बासेले जिल्लामा कार्यरत धेरै गैरसरकारी संस्थाले मनोमानी ढङ्गबाट कार्यक्रम सञ्चालन गरिरहेको र जिविससँग आवश्यक समन्वय नगर्दा विकासे गतिविधिमा समस्या आएको  बताए ।

जिल्ला विकासको साझेदारका नाममा भित्रिएका गैरसरकारी संस्थाको बजेट र कार्यक्रम जिविसको किताबमा उल्लेख हुनैपर्नेमा जिविसका वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढाथापाले जोड दिए ।

उनले जुम्लामा कार्यरत गैससहरुलाई आफ्नो प्रगति प्रतिवेदन जिविसलाई बुझाउन समेत अनुरोध गरे।

आगामी फागुनमा हुने २४औँ जिल्ला परिषद्बाट किताबमा उल्लेख नभएका गैससलाई काम गर्न नपाउने नीति निर्माण गरी पास गरिने उनको भनाइ थियो ।

गैससले मनोमानी तरिकाले कार्यक्रम सञ्चालन गर्ने र सरकारी कार्यालयका प्रमुख आफ्नै तरिकाले जिल्ला बाहिरिनुले विकासमा बाधा पुगेको कार्यक्रमका अधिकांश सहभागीले बताएका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट