मोटरबाटो निर्माणका कारण पर्यटक घटे

प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

रिपोर्टर नेपाल

तेह्रथुम, २० माघ । पूर्वको पर्यटकिय स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जथाभावी सडक निर्माण भएपछि यहाँको आकर्षण घटेको छ ।

तेह्रथुमको वसन्तपुरदेखि सङ्खुवासभाको गुफा बजार हुँदै ताप्लेजुङको दोभानसम्म पदमार्ग सडकमा पणित भएपछि पदमार्ग भएर आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न छाडेको व्यवसायीको भनाइ छ । सुविधा भए पनि बढी जोखिम मोल्नुपर्ने भएकाले आएका पर्यटक पनि वसन्तपुरबाटै फर्कने गरेका छन् ।

बसन्तपुरका मिलन थापा भन्छन्- ‘सबै कुरा भौतिक विकास मात्र होइन रहेछ ।’  ‘सडकको विस्तारसँगै पर्यटकीय यो थलो ओझेलमा पर्यो ।’  नेपाल पर्यटन बोर्डले गरेको नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमा सूचीकृत यो क्षेत्र यतिबेला सडक विस्तारका कारण क्षतविक्षत् भएको गुनासो पोखे ।

यस क्षेत्रमा रहेको पदमार्ग निर्माणाधीन वसन्तपुर गुफा हुँदै ताप्लेजुङको दोभान जोड्ने सडकका कारण कुरूप बनेको पर्यटन विकास तथा प्रवद्र्धन समितिले जनाएको छ । यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले निर्माणाधीन सडकका कारण अन्यत्रैबाट ओहोरदोहोर गर्न थालेका छन् ।

एउटै उचाइको रमणीय यो पदमार्ग पछिल्लो समय सडक मार्गका कारण सङ्कटमा परेको स्थानियको भनाइ छ । उनले भने-‘पदमार्ग भएर आउने पर्यटकले प्राकृतिक विविधतालाई नजिकबाट हेर्न रुचाउँछन्।’

यो पदमार्गको वसन्तपुरदेखि गुफा हुँदै साँघुसम्म साना सवारीका साधन सञ्चालन हुन थालेका छन् । पदमार्ग भएर हिँड्दा पाइने प्राकृतिक आनन्द मोटर बाटोमा नपाइने एक पर्यटकले बताए ।

गत वर्षको तुलनामा यो वर्ष पर्यटकको सङ्ख्यामा कमी आएको स्थानीय बासिन्दाको अनुभव छ । वर्षको तीन महिनासम्म फुलिरहने २८ भन्दा बढी प्रजातिका गुराँस, विविध प्रजातिको कुहिरे वन, लोपोन्मुख जडीबुटी र वन्यजन्तु, सिमसार, पोखरी तथा चराचुरुङ्गी र मनोरम प्राकृतिक दृश्य यस क्षेत्रका पर्यटकीय आकर्षण हुन् । यो क्षेत्र कुम्भकर्ण, मकालु र कञ्चनजङ्घा हिमाल आरोहण गर्न जानेहरुको पदमार्गसमेत हो ।

तर अहिले मोटरबाटो निर्माणका कारण यहाँसम्म आइपुगेका पर्यटक आफ्नो बसाइ अवधिसमेत घटाउन थालेका छन् जसले गर्दा स्थानीय स्तरमा यसअघि हुने आर्थिक कारोबारमा समेत कमी आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट