अझै सुरु हुन सकेन पुनःनिर्माण कार्य

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल

बनेपा, १७ माघ । काभ्रेपलाञ्चोकका दश गाविसमा अझै पनि पुनःनिर्माणको काम सुरु हुन सकेको छैन ।

जिल्लाको गोकुले, मादनकुँडारी, फलामेटार, फलाटे, सिसाखानी, ठूलो पर्सेल, फोक्सिङटारलगायत दश गाविसमा सिकर्मी, डकर्मी सहित प्राविधिकको अभाव र दुर्गम क्षेत्र भएका कारणले पनि पुनःनिर्माणको काम सुरु हुन नसकेको सहरी विकास भवन डिभिजन कार्यालयले जनाएको छ ।

पुनःनिर्माणको काम विगतमा इन्जिनियरको राजीनामाले पनि सुस्त भएको कार्यालयका प्रमुख अष्टलाल सुवालले बताए ।

पुनःनिर्माणको काम नाम मात्रैको भएकाले सन्तुष्टि जनाउने ठाउँ छैन भन्दै अहिलेसम्म २८ प्रतिशत भन्दा बढी काम नभएकाले अब यसलाई छिटोभन्दा छिटो निष्कर्षमा पु¥याउन आवश्यक आएको प्रमुख जिल्ला अधिकारी शिव शिंखडाले बताए ।

लालपुर्जा नभएका कारण जिल्लाको फलाँटे र भुम्लुटार गाविसमा पहिलो किस्ताबापतको रकम पाउन पनि स्थानीयवासीलाई अप्ठ्यारो परेको भन्दै प्रजिअ शिंखडाले भूमिहीन र सुकुम्बासीको समस्याले पनि पुनःनिर्माणको काम प्रभावित भएको बताए ।

जिल्लाको १२ गाविसमा मात्रै पूर्णरुपमा लाभग्राहीसँग सम्झौता भएको भन्दै भूकम्पपीडितका लागि दोस्रो किस्ता रकम वितरण गर्न निर्देशिका बन्न ढिलाइ भएकाले समस्या देखिएको स्थानीय विकास अधिकारी, टेकराज निरौलाले बताए ।

अहिलेसम्म जिल्लाको ७५ गाविस र पाँच नगरपालिकामा कुल ६७ हजार ७११ लाभग्राहीमध्ये ६२ हजार ४१३ जनासँग मात्रै अनुदान सम्झौता भएको जिविसको तथ्याङ्कमा उल्लेख छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट