हेटौँडामा त्रिविले भर्ना लिन नपाउने

प्रकाशित मिति: १७ माघ २०७३, सोमबार

रिपोर्टर नेपाल 

चितवन, १७ माघ । हेटौँडामा त्रिभुवन विश्वविद्यालयले भर्ना लिन नपाउने भएको छ ।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वोच्च अदालतले किनारा लगाएको हो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय स्थापना भएदेखि नै दुई विश्वविद्यालयकाबीच विवाद हुँदै आएको थियो । चार वर्षअघि त्रिविले चितवनको रामपुरमा कृषि र भेटेनरी सङ्कायमा भर्ना लिन छाडेको भए पनि हेटौँडामा भने दुवै विश्वविद्यालयले भर्ना लिँदै आएका थिए ।

गत वर्ष तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको अध्यक्षतामा दुई विश्वविद्यालयका पदाधिकारीसहितको बैठकले आउँदो वर्षबाट हेटौँडामा त्रिविले भर्ना नलिने सहमति गरेको थियो । तर यसवर्ष पनि त्रिविले हेटौँडा, पोखरा र काठमाडौँका लागि मङ्सिर ७ गते प्रवेश परीक्षा गर्ने भन्दै फाराम वितरण गरेको थियो । त्यस पश्चात् कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सर्वोच्च अदालतमा गतवर्षको सहमति कार्यान्वयन गर्न भन्दै रिट दायर गरेको थियो ।

कात्तिक २४ गते सर्वोच्च अदालतले त्रिविअन्तर्गतको डिनको कार्यालय पोखराबाट हेटौँडा क्याम्पसका लागि विद्यार्थी भर्ना गर्ने अवस्था नदेखिएको भन्दै अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि त्रिविले अन्तरिम आदेशलाई बदर गर्न सर्वोच्चमै रिट दायर गरेको थियो । सर्वोच्चले माघ ९ गते कात्तिक २४ गतेको अन्तरिम आदेशलाई बदर नगरी निरन्तरता दिएको छ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश दीपकराज जोशीको संयुक्त इजलासले त्रिविलाई भर्ना लिने बाटो बन्द गरिदिएसँगै फाराम भरेका विद्यार्थीसमेत अन्योलमा परेका छन् ।

माघ १ गतेबाट पढाइ गर्ने तयारीका साथ शैक्षिक कार्यक्रम अगाडि बढाएको भए पनि सर्वोच्चको फैसलासँगै के गर्ने भन्ने टुङ्गो लाग्न नसकेको वन विज्ञान अध्ययन संस्थान डिनको कार्यालय पोखराका डिन कृष्णराज तिवारीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट