अरुण काबेली पावर मर्जरमा जाने

प्रकाशित मिति: २ आश्विन २०७३, आईतवार

रिपोर्टटर नेपाल समाचार

काठमाडौं, २ असोज । अरुण काबेली पावरको छैटौँ वार्षिक साधारणसभाले अन्य उपयुक्त हाइड्रोपावर कम्पनीसँग मर्ज वा एक्वीजिसनमा जानेगरी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको साधारण सभा बैठकले मर्ज वा एक्विजिसनमा जाने निर्णय गरेको हो । यस कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी–१ जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री संझौता सम्पन्न गरेको छ ।

उक्त आयोजनाका लागि नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाईमा ६ वटा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमा आयोजनाले वित्तीय व्यवस्था मिलाएको हो । काबेली बी–१ जलविद्युत् आयोजनाको बाँधदेखि पावरहाउससम्म आवश्यक पर्ने सिभिल तथा हाइड्रोमेकानिकल संरचनाहरूको निर्माण कार्य ६० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

यस परियोजना निर्माण पूरा गर्न ४ अर्ब लाग्ने अनुमान छ । परियोजना निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूबाट लिइने परियोजना कर्जावापत २ अर्ब ५० करोड र संस्थापकबाट १ अर्ब ५० करोड रुपैयाँ जुट्नेछ । उद्योग प्रभावित स्थानीय बासिन्दाहरूबाट १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरी बाँडफाँडसमेत भइसकेको छ । त्यसैगरी सर्वसाधारणमा ३० करोड रुपैयाँ बरावरको साधारण सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइएको कम्पनीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट