मेवाखोला हाइड्रोपावर दसैँअगाडि

प्रकाशित मिति: ३१ भाद्र २०७३, शुक्रबार

खोटाङ, ३१ भदौ । जिल्लामा निर्माणाधीन मेवाखोला हाइड्रोपावर दसँैअगाडि सञ्चालन हुने भएको छ । एक मेगावाट क्षमताको हाइड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दसैँअगाडि सञ्चालन गर्ने तयारी गरिएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए ।

कम्पनीको हालसम्मको प्रगतिबारे बिहीबार सार्वजनिक भएको कार्यक्रममा चीनबाट आउने तीन सदस्यीय इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि विद्युत् बल्ने निर्देशक राईले जानकारी दिए । निर्माणाधीन हाइड्रोपावरको ड्राई टेस्ट गरिसकिएकाले बत्ती बाल्न र केन्द्रीय प्रसारणलाइनमा जोड्न मात्र बाँकी रहेको जनाइएको छ ।

विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङ जिल्लावासी दुई हप्ताभित्र मेवाखोला जलविद्युत् सञ्चालन हुने खबरले उत्साहित बनेका छन् । समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाइमा बैंक अफ काठमाडौँको ७० प्रतिशत गरी रु २१ करोड ५० लाखको लागतमा दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवाखोलाबाट विद्युत् उत्पादन गर्न लागिएको हो ।

हाल २.५ मेगावाट विद्युत् खपत भइरहेको जिल्लामा मेवाखोलाको एक मेगावाट विद्युत् थप हुँदा जिल्लामा ऊर्जा सङ्कटमा कमी आउने दाबी गरिएको छ । जिल्लालाई विद्युतभार कटौतीमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा २०७१ सालदेखि सो जलविद्युत्को काम सुरु गरिएको हो । २०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुईपटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिनपछि धकेलिएको आयोजना प्रमुख ललितकुमार राईले बताए ।

बाढीको क्षतिका कारण सुरुमा अनुमान गरेभन्दा रु दुई करोड ५० लाख बढी खर्च लागेको हो ।

सो जलविद्युत् आयोजनाको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका ४० गाविस विद्युत्भार कटौतीमुक्त बन्ने कम्पनीले जनाएको छ । जिल्लामा ३८ गाविसमा केन्द्रीय विद्युत् लाइन सञ्चालनमा रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट