पाँच सिमेन्ट उद्योगको उत्पादन बन्द

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २८ भदौ । गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बजारमा पठाउने ५ वटा सिमेन्ट उद्योगलाई नातपौल तथा गुणस्तर नियन्त्रण विभागले बिक्रीवितरणमा रोक लगाएको छ ।

उद्योगबाट संकलित नमुनाको ३ देखि ७ दिनको कम्प्रेसिभ स्ट्रेन्थ तोकिएको मापदण्डभन्दा कम पाइएपछि ती उद्योगको उत्पादन बन्द गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

विभागबाट खटिएको अनुगमन टोलीले बारामा रहेको अरनिको सिमेन्ट, रुपन्देहीमा रहेको रिलायन्स सिमेन्ट, पर्सामा रहेको श्री सिमेन्ट, बाँकेमा रहेको जयबागेश्वरी सिमेन्ट्स र सोही जिल्लामा रहेको जय मंगलम सिमेन्ट्स उद्योगलाई बन्द गराएको हो ।

पुडासैनीका अनुसार अरनिको सिमेन्टको ओपिसी तथा पिपिसी दुवै उत्पादन बन्द गराएको हो । त्यसैगरी, रिलायन्सको पनि ओपिसी र पिपिसी, श्रीको पिपिसी, जयबागेश्वरीको पिपिसी र जयमंगलको पिपिसी उत्पादन बन्द गराइएको हो ।

त्यसैगरी, विभागले उत्पादन बन्द गराएका सिमेन्टको उत्पादन बजारबाट तत्काल फिर्ता लिन निर्देशनसमेत दिएको छ । उनका अनुसार जयबागेश्वरी र जयमंगलम सिमेन्ट्सले आइआर तोकिएभन्दा कम राखेर सिमेन्ट उत्पादन गरेको पाइएको छ । विभागले जय मंगलम, श्री सिमेन्ट, अरनिको सिमेन्ट, रिलायन्स सिमेन्ट उद्योगको उत्पादन बन्द गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट