साइरन बज्ने ताल्चा बजारमा, फोड्न खोजे टोल थर्काइदिन्छ

प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

राजधानी लगायत विभिन्न शहरहरुमा हुने चोरीका घटना अब ताल्चाले नै नियन्त्रण गर्न सघाउ पुर्याउने छ। चोर वा अपरिचित कोही व्यक्तिले तोडफोड गर्न खोजेमा साइरन बजेर टोललाई नै सचेत गराउने ताल्चा बजारमा पाइन थालेको छ।
चीनमा बनेको यो ताल्चा राजधानीको महाबौद्धसहित विभिन्न ठाउँहरुमा पाइने गर्दछ। यसको नेपाली मूल्य १२ सय रुपैयाँ रहेको छ। चोर भगाउने स्मार्ट ताल्चाको रुपमा यसलाई चिन्ने गरिएको ‘एज सिन यूट्युब प्रोडक्ट’का बजार व्यवस्थापक राधेश्याम बुढाथोकीले जानकारी दिए।

ढोका, गेट तथा सटरहरुमा समेत यस्तो ताल्चा प्रयोग गर्न सकिने बताउँदै उनले नेपालमा सुरुआती समयमै राम्रो बजार पाइसकेको बताए। ताल्चामा ‘यू’ आकारको डण्डीलाई खोली नयाँ तरिकाले जोडेपछि साइरन सेटिङ गर्न सकिन्छ।

सेटिङ गरेपछि कसैले त्यसमा ह्यामर, ढुंगा वा जुनसुकै कडा बस्तुले हिर्काउँदा साइरन बज्ने गर्दछ। ताल्चाको यू आकारको डण्डी काट्न खोजेमा पनि साइरन बज्दछ।उनका अनुसार यसको साइरन १० सेकेण्डसम्म बजेर आफै बन्द हुन्छ। १ सय १० डिसेबलको साइरन क्षमता रहेकाले ४ सय मिटर वरिपरिसम्मको क्षेत्रमा यसको आवाज सजिलै सुन्न सकिने बुढाथोकीले जानकारी दिए।

ताल्चामा हुने ब्याट्रीका कारण साइरन बज्ने गरेको हो। यसको ब्याट्री ९ महिनादेखि १ वर्षसम्म टिक्ने गरेको उनले बताए। आफ्नो पसलबाट कसैले खरिद गर्न खोजेमा होम डेलिभरीको समेत व्यवस्था रहेको उनले जानकारी दिए।

साइरन बज्ने यस्ता ताल्चाको तौल ५ सय ग्रामको हाराहारीमा रहेको छ। सबै ताल्चाका पाङ्ग्राको साइज एउटै भए पनि यू आकारका डण्डीको भने फरक फरक रहेको छ। ‘सटर, गेट, ढोका सबैमा मिलोस् भन्ने उद्देश्यले नै यसको यू आकारका डण्डी विभिन्न साइजहरुमा रहेको हो’ उनले भने।

साइडमा रहेको साँचो घुसाउने प्वालमा ‘सेन्सर’ जडान हुने भएकाले ‘मास्टर कि’ ले खोल्न खोजे पनि साइरन बज्ने बुढाथोकीले जानकारी दिए।

‘पछिल्लो समयमा काठमाडौं लगायत शहरहरुमा हुने चोरीका अधिकांश घटनामा मास्टर साँचोको प्रयोग हुने गरेकाले पनि यो ताल्चा त्यस तवरले सुरक्षित हुन्छ’ उनले भने ‘यी ताल्चाहरुको प्रयोगले चोरीका घटनाहरु नियन्त्रण गर्न सघाउ पुर्याउने छ।’

उनका अनुसार विश्वका विभिन्न देशहरुमा यस्ता ताल्चाको प्रयोग ज्यादा हुने गरे पनि नेपालमा भने भर्खर प्रयोगमा आउन थालेको हो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट