सैलुनबाट मासिक एक लाख कमाइ

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
चितवन, ७ असोज । खाडी मुलुक कतारमा २ वर्षसम्म मेसिन हेल्परका रूपमा काम गर्दा अत्तालिएर स्वदेश फर्किएका १ युवाले यहाँ सैलुन खोलेर मासिक १ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

भरतपुरको चौबीसकोठीमा मासिक २५ हजार रुपैयाँ भाडा तिर्ने गरी पपुलर जेन्स पार्लर खोलेका पार्वतीपुरका २९ वर्षीय श्रीराम सिग्देल खाडी मुलुकमा भौँतारिनेहरूका लागि उदाहरणीय बनेका छन् ।

४ वर्षअघि स्वदेश फर्किएर ६ महिनासम्म सैलुन तालिम लिएर सिग्देलले आफ्नै व्यवसाय सुरु गरेका हुन् । १ लाख रुपैयाँ खर्चिएर कतार पुगेका सिग्देलले १२ घन्टासम्म चिनियाँ फर्मलाइन कम्पनीमा मेसिन हेल्परका रूपमा खटिँदा मासिक १५ हजार रुपैयाँ मात्रै बच्थ्यो । करिब ४ लाख ५० हजार रुपैयाँ खर्च गरी उनले सुरु गरेको सैलुनबाट ७० हजारदेखि १ लाख रुपैयाँसम्म मासिक वचत गर्छन् ।

उनलाई पत्नी सुष्मिताले समेत कपाल काट्न साथ दिँदै आएकी छन् । उनीहरूले नै तालिम दिएका अन्य २ जनाले समेत रोजगारी पाएका छन् । खाडी मुलुकमा जे पनि गर्न हुने स्वदेशमा काम गर्न किन नहुने भन्ने मनस्थितिका साथ पेसामा लागेको सिग्देलको भनाइ छ ।

उनले आफ्नै पार्लरमा ४० युवा र १३ युवतीलाई तालिम दिइसकेका छन् । तालिम लिएकाहरू क्यानडा, अस्टे«ेलिया र चीन गएको सिग्देलले बताए । तर, खाडी मुलुक नजान उनले सल्लाह दिँदै आएका छन् । निकट भविष्यमा उनी नवलपरासीको कावासोतीमा अर्काे सैलुन खोल्ने तयारीमा छन् ।

उच्च माविसम्मको अध्ययन गरेका सिग्देलको सैलुनमा अहिले दैनिक २० देखि ३० जना ग्राहक आउने गर्दछन् । व्यवसाय मिल्ने गरी दौँतरीको खोजीमा रहेका सिग्देलले १ वर्षअघि सिटिइभिटीमा कपाल काट्ने तालिम लिएकी सुष्मितासँग विवाह गरे । यसबाट उनलाई व्यवसायमा सहयोग पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट