राजधानीमा आजदेखि पाकिस्तानी हस्तकला मेला सुरु

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ७ असोज । सातौँ पाकिस्तानी हस्तकला व्यापार मेला आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ ।

रावलपिन्डी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको व्यापार मेलामा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल र पाकिस्तानबीच पुरानो सम्बन्धलाई मेलाले थप प्रगाढ गराउने विश्वास व्यक्त गरे । ‘मेलाले पाकिस्तानको सामग्री नेपालमा आयात गर्न तथा नेपालको सामग्री पाकिस्तानमा निर्यात गर्न थप मद्दत पुग्छ’, उनले भने ।

सचिव उपाध्यायले पाकिस्तानी सामान नेपाल आयात गर्न तथा नेपाली सामान पाकिस्तान निर्यात गर्न यातायातको ठूलो समस्या रहेको भन्दै सहज भए मात्र सहुलियत दरमा सामग्री पाइने स्पष्ट पारे ।

नेपाल–पाकिस्तान मैत्री समाजका अध्यक्ष हिमालयशमशेर जबराले नेपाली बजारमा पाकिस्तानी हस्तकलाले पर्याप्त बजार पाएको बताए । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानी हस्तकलाका सामानलाई नेपाली बजारमा चिनाउन मेलाले सहयोग पुगेको बताए ।

नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुनील चित्रकार, ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष सबिन श्रेष्ठलगायतले नेपालको हस्तकला निर्यातमा पाकिस्तानको ठूलो भूमिका रहेको बताए । मेलामा कपडा, छालाका सामग्री, धातुका सामान, काष्ठकलालगायत सामग्री राखिएका छन् । मेला १२ असोजसम्म चल्नेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट