उखु किसानले अनुदान पाएनन्

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
कपिलवस्तु, ७ असोज । सरकारले दिने २ करोड ५० लाख रूपैयाँ अनुदान रकम जिल्लाका उखु किसानले पाउन सकेका छैनन् । गतवर्ष जिल्लाको जवभारीस्थित महालक्ष्मी सुगर्स प्रालि र किसानबीच विवाद हुँदा सरकारले किसानलाई सो रकम अनुदान स्वरूप दिने निर्णय गरेको थियो ।

सरकारले तोकेबमोजिम रकम मिलले नदिएपछि किसान र मिल सञ्चालकबीच विवाद भएको थियो । सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४ सय ६१ रूपैयाँ दिने निर्णय गरेको थियो । जिल्लामा मिल सञ्चालकले प्रतिक्विन्टल ४ सय ३६ रूपैयाँ मात्र दिएका थिए । बाँकी २५ रूपैयाँ सरकारले दिने सम्भmौता भएको हो ।

किसानलाई १ वर्ष बित्दासमेत सरकारले रकम उपलब्ध गराएको छैन । किसान संघका जिल्ला अध्यक्ष अनुपकुमार चौधरीले ५ हजार किसानले अनुदान रकम नपाएको बताए । पटकपटक सरकार र मिल सञ्चालकलाई अनुरोध गर्दा समेत कुनै सुनवाइ भएको छैन ।

कृषि मन्त्रालयमा धाउँदासमेत कहिले अर्थ मन्त्रालयबाट रकम निकासा नभएको त कहिले मिल मालिकले कागजपत्र नपठाएको भन्दै दुःख दिने काम मात्र भएको पीडित किसान रामकिशोर चौधरीले बताए ।

किसानको सयदेखि ५ हजार क्विन्टल उखुको अनुदान रकम पाएका छैनन् । महालक्ष्मी सुगर्स प्रालिका प्रबन्धक हरिनारायण चौधरी कागजपत्र ढिलो पठाएको स्वीकार गर्दै चाँडै नै रकम निकासाका लागि पहल गर्ने बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट