कारागारभित्रको व्यवसायबाट मनग्य आम्दानी

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार
लमजुङ, ७ असोज । जिल्ला कारागारभित्र रहेका कैदीबन्दीले व्यावसायिक उत्पादनबाट मनग्य आम्दानी गरेका छन् ।
कैदीले आफ्नो सीपअनुसारको व्यवसाय गरेर आम्दानी गरेका हुन् । अधिकांश कैदीले बाँसको मुढाबाट मनग्य आम्दानी लिएका छन् । कतिपयले कपडा सिलाउने र केहीले जुत्ता उत्पादन गरी बिक्री गर्ने गरेका छन् ।

कैदी सुवास खत्रीले मासिक १५ हजार रूपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनले महिनामा २५ देखि ३० वटा मुढा तयार पार्छन् । अन्य कैदीलेसमेत यसरी नै आम्दानी गर्दै आएका छन् । एउटा मुढाको मूल्य ६ सय रूपैयाँभन्दा बढी पर्छ । यस्तै बाँसको टेबलको मूल्य ९ हजार रूपैयाँसम्म पर्छ ।

कैदीले बाहिरबाट बाँस, टायर, डोरी र रङ खरिद गरी विभिन्न सामग्री निर्माण गर्ने गरेका छन् । यस्तै कैदी राजु परियारले जुत्ता बनाएर आम्दानी गरेका छन् । बाहिरबाट कच्चा पदार्थ ल्याई कारागार भित्रै जुत्ता बनाएर उनले बिक्री गर्दै आएका छन् ।

कैदी नरेश विकले सिरक र डसना बनाएर मनग्य आम्दानी गर्ने गरेका छन् । ‘सिरक डसना बनाउँदा समय कटेको पत्तो हुँदैन’, उनले भने । बजार मूल्यभन्दा सस्तो र बलियो सामान पाइने हुँदा अधिकांश ग्राहक कारागारसम्म पुग्ने गरेका कैदीको भनाइ छ ।

कैदीले आफ्नो कमाइ स्थानीय सहकारीमा बचत गर्ने गरेका छन् । केहीले आफ्ना घरमासमेत पठाउने गरेका कारागार प्रमुख काजीमान सुनारले बताए । कारागारले विभिन्न सीपमूलक तालिम आयोजना गर्दै आएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट