ढुकुटीको कारोबारले डुबायो

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
धनगढी, ६ असोज । तपाईं ‘ढुकुटी’ खोलेर नगदको कारोबार गरिरहनुभएको छ भने सावधान रहनुहोला । किनकी गैर कानुनी मानिने ‘ढुकुटी‘ खेलेकै कारण यहाँका कयौँ व्यापारी र सर्वसाधारण यति बेला ठगिएर बिचल्लीमा परेका छन् ।

ढुकुटी खेलाएवापत संकलन भएको करोडौँ रूपैयाँ लिएर सञ्चालक बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण ठगिने गरेका हुन् । एउटा समूह खडा गरी त्यसमा आवद्ध सदस्यले ढुकुटीवापत महिनैपिच्छे जम्मा गरेपछि संकलित रकम महिनामा एकपटक समूहका सदस्यलाई पालैपालो भुक्तानी गरिन्छ ।

ढुकुटी खेल्नु गैर कानुनी भएकाले ठगिएका पीडितले आफ्नो नाम सार्वजनिक गर्न मान्दैनन् । धनगढीको ट्राफिक चौराहा क्षेत्रका सर्वसाधारण र व्यापारीको ढुकुटीवापत संकलन भएको करोडौँ रकम कुम्ल्याएर केही महिनाअघि फरार भएको एक व्यक्तिलाई हालै प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको प्रहरी टोलीले ढुकुटी खेलाएर संकलन भएको रकमसहित फरार रहेको कन्काई स्टोर धनगढीका लोकराज भट्टराईलाई नुवाकोटबाट पक्राउ गरेर सोमबार राती धनगढी ल्याइएको छ । उनीमाथि ठगी मुद्दा चलाउने तयारी गरिएकोमा प्रमाण नपुगेपछि सार्वजनिक अपराधमा मुद्दा चलाइएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

गैर कानुनी रूपमा ढुकुटी खेलाएर संकलन भएको रकम लिएर अन्य व्यक्तिसमेत फरार छन् । बढी ब्याज पाइने लोभमा यहाँका सर्वसाधारणले ठगिनु परेको छ । स्थानीय बजारमा तरकारी व्यवसाय गर्दै आएका भारतीय नागरिक राजेश गुप्ता चर्को ब्याजमा स्थानीय सर्वसाधारणबाट लिएको ३ करोड रुपैयाँभन्दा बढी रकम लिएर फरार छन् ।

केही वर्षदेखि मासिक १० देखि १२ प्रतिशतसम्म व्याज दिएर स्थानीयवासीको विश्वास जित्न सफल गुप्ता पछिल्लोपटक भने ठूलो रकम लिएर फरार भएका हुन् । धनगढी भन्सार रोडमा तरकारी तथा फलफूलको व्यापार गर्दै आएका गुप्ताको कारोबार अधिकांश स्थानीय महिलासँग हुने गरेको थियो ।

गुप्तासँगको विश्वासमा उनका भाइ नातापर्ने रामनाथ शाहलाई आफू समेतका थुपै्र महिलाले दिएको ऋण रकम लिएर फरार हुँदा बिचल्लीमा परेको मिलन चौककी पार्वती भट्टले बताइन् ।

स्तै धनगढी बोराडाँडीका लक्ष्मणसिंह भट्टले बैंकमा धितो राखेर निकालेको ११ लाख रुपैयाँ मासिक १० प्रतिशत व्याजमा गुप्तालाई दिएका थिए । ‘विश्वास गर्दा नराम्रोसँग धोका पाइयो,’ उनले भने ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट