सेयरबजार सुधारका लागि धितोपत्र बोर्डको निर्देशन

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ६ असोज । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर बजार सुधारका लागि फेरि नयाँ कार्यक्रम ल्याएको छ । सेबोनले लगानीकर्ताको हितग्राही खातासँगै बैंक खातालाई जोड्न, नयाँ सेयर आवेदन र हकप्रदको आवेदन पत्र अनलाइनबाटै उपलब्ध गराउन, आवेदन केन्द्रको संख्या धेरै बनाउन, नगद लाभांश अनिवार्य रूपमा बैंक खातामा पठाउने व्यवस्था मिलाउन केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी), मर्चेन्ट बैंकर तथा सूचीकृत कम्पनीहरूलाई निर्देशन दिएको छ ।

सुधार कार्यक्रम अन्तर्गत नै धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसन पूरा भएर एकीकृत बैंकिड कारोबार सुरु भए लगत्तै सेयर कारोबार खुलाउने व्यवस्था गर्न सूचीकृत कम्पनीहरूलाई निर्देशनसमेत दिएको छ । कतिपय बैंक तथा बित्तीय संस्थाहरूले एकीकृत कारोबार सुरु गरेको झन्डै ६ महिना नाघ्न लाग्दा पनि सेयर कारोबार खोल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले मर्ज वा एक्विजिसनको अन्तिम स्वीकृतिका लागि निवेदन दिँदा नै मर्ज तथा एक्विजिसन हुने संस्थाहरू सहमत भएर सेयर कारोबार खोल्ने निवेदन दिएमा सेयर कारोबार खोल्न स्वीकृति लिन सकिने निर्देशन जारी गरिसकेको छ ।

बोर्डले राष्ट्र बैंकको त्यही निर्देशनमा समन्वय गरेर नयाँ प्रबन्ध मिलाएको देखिएको छ । बोर्डले एकीकृत कारोबारसँगै सेयर कारोबार खुलाउन तथा प्रक्रिया लम्बिएमा ढिलोमा १५ दिनमा कारोबार खुलाउन कम्पनीहरूलाई निर्देशन दिएको हो ।

बोर्डले नयाँ डिम्याट खाता खोल्ने लगानीकर्ताबाट अनिवार्य रूपमा बैंक खाताको विवरण पनि संकलन गर्ने व्यवस्था मिलाउन सिडिएससीलाई निर्देशन दिएको हो । यो निर्देशनले लगानीकर्तालाई नगद लाभांश बैंक खातामा पठाउने काममा सहज वातावरण बन्ने विश्वास बोर्डले लिएको छ ।
बोर्डले सेयर निष्काशनका दौरान आवेदन संकलनलाई अहिलेको भन्दा व्यवस्थित बनाउन निर्देशन दिँदै मर्चेन्ट बैंकहरूमा कार्यरत जनशक्तिको क्षमता विस्तार गर्न मर्चेन्ट बैंकहरूले अनिवार्य रूपमा आफ्नो कमाइको केही हिस्सा मानव संशाधन विकास शीर्षकमा छुट्याएर सोको जानकारी बोर्डलाई गराउन पनि निर्देशन दिएको छ ।

लगानीकर्ताहरूको तर्फबाट उठाइएका धेरै गुनासाहरूको सम्बोधन गर्दै धितोपत्र बोर्डले सेयर बजारलाई व्यवस्थित बनाउने प्रयास जारी राख्दा लगानीकर्ताको मनोबल अरू सुदृढ हुने देखिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट