फर्कियो नेपाली टोली पाटा ट्राभल मार्टबाट

प्रकाशित मिति: ६ आश्विन २०७३, बिहीबार

काठमाडौं÷ इन्डोनेशियाको राजधानी जाकर्तामा आयोजित विश्वकै चर्चित पर्यटन मेला ‘पाटा ट्राभल मार्ट’मा सहभागिता जनाएर नेपाली सहभागी टोली स्वदेश फर्किएको छ । मेलामा पाटा नेपाल च्याप्टरले नेपालको पर्यटन प्रचार गर्ने विभिन्न प्रदर्शनी प्रस्तुत गरेर फर्किएको पाटा नेपालका कार्यकारी अधिकृत सुरेशसिंह बुडालले बताएका छन् ।

सेप्टेम्बर ७ देखि ९ सम्म आयोजित ३९ औं पाटा ट्राभल मार्टमा पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले अन्तर्राष्ट्रियस्तरको सेवाबारे जानकारी लिन र अन्य मुलुकको अनुभव आदानप्रदान गर्न मार्ट फलदायी भएको जनाए । अन्तर्राष्ट्रियस्तरमा क्रेता र बिक्रेताबीच व्यापार प्रवद्र्धन गर्ने महत्वपूर्ण थलो उक्त मार्टलाई नेपालले भरपुर उपयोग गर्नसकेको खण्डमा नेपाली पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अध्यक्ष पाण्डेले दावी गरे ।

सो मार्टमा विभिन्न मुलुकका पेभिलियन प्रदर्शन गरिएको थियो । ती मध्ये नेपालको पेभिलियनमा दर्शकको आकर्षण देखिएको कार्यकारी अधिकृत बुडालले बताए । उनका अनुसार खासगरी परम्परागत प्यागोडा शैलीमा सजाइएको नेपाली पेभिलियनमा सगरमाथा, पशुपतिनाथ मन्दिरलगायत नेपाली पर्यटनका विविध उत्पादनलाई सजाइएको थियो । भूकम्पपछि नेपालको पर्यटनबारे मार्टमा सहभागी धेरैको चासो रहेको पाटाका सहभागीहरुले जनाएका छन् ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रामहरि शर्माले नेपाली पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्न मार्ट उपयुक्त थलो भएको उल्लेख गरे । नेपालसहित ६३ वटा मुलुकबाट एक हजार २८४ प्रतिनिधिको सहभागिता जनाइएको उक्त मेलामा १०० भन्दा बढी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी रहेका थिए भने नेपालबाट छवटा सञ्चारमाध्यमका प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट