निजी क्षेत्रले भन्सार चुहावट रोक्न सहयोग गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

प्रकाशित मिति: १३ माघ २०७७, मंगलवार

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भन्सार प्रशासनलाई सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

मंगलबार ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले भन्सार चुहावट रोक्न निजी क्षेत्रले सहयोग गर्नुपर्ने धारणा राखेका हुन् । अर्थमन्त्री पौडेलले निजी क्षेत्र र भन्सार एक सिक्काका दुई पाटा भएको उल्लेख गर्दै दुई मध्ये एक नहुँदा भन्सार प्रणाली नै नरहने बताए ।

निजी क्षेत्रका जायज समस्यालाई भन्सार प्रशासनले समाधान गर्न सहयोग गर्नुपर्ने भन्दै उनले भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व व्यापार संगठनको सिद्धान्तअनुसार भन्सार प्रशासनले वस्तुको कारोबार मूल्यलाई परिवर्तन गर्न नपाउने बताए । भन्सार प्रशासनले व्यवसायीहरुलाई विश्वास गर्न नसक्दा बस्तुको मूल्याङ्कन र वर्गीकरणमा समस्या हुने गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कुनै पनि वस्तुको भन्सार मूल्याङ्कन र वर्गीकरणको समस्या छिटो समाधान हुनुपर्ने माग गरे । तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा दुई तहको फरक हुने व्यवस्था गर्न माग गर्दै उनले भन्सार प्रणालीलाई सधुार गर्न पूर्वाधार, प्रविधि र पारदर्शितामा ध्यान दिन समेत आग्रह गरे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट