कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

प्रकाशित मिति: ८ माघ २०७७, बिहीबार

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज बिहीबार विमानमार्फत काठमाडौं ल्याइएको छ ।

बिहीबार त्रिभुवन विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेका छन्। विमानस्थलमै भएको औपचारिक कार्यक्रममा भारतीय राजदूत  क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरेका हुन् ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो। ‘कोभिसिल्ड’ खोप एयर इन्डियामार्फत बिहीबार बिहान नेपाल आइपुगेको हो। खोपलाई त्रिभुवन विमानस्थलबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको कोल्डस्टोरमा ल्याइएको छ। त्यहीँबाट आवश्यकताअनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा खोप पठाउने तयारी स्वास्थ्य सेवा विभागले गरेको छ। कोल्डचेनसहितको खोप भ्यानमार्फत स्थानीय तहमा खोप पुर्‍याउने विभागको तयारी छ।

पहिलो चरणको खोप ७७ वटै जिल्लाका अस्पतालहरुबाट एकैपटक लगाइने छ भने उक्त खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट