विविध कार्यक्रम गरी २३औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

प्रकाशित मिति: २ माघ २०७७, शुक्रबार

काठमाडौं । हरेक वर्ष माघ २ गते मनाइँदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

वि.सं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ । यसवर्ष ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो ।

भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन सुरु गरेको थियो। दिवसका अवसरमा मूल समारोह समितिले आज भक्तपुर मध्यपुरथिमि नगरपालिका वडा नं ८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रमको आयोजना गर्दैछ। दिउँसो हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् ।

भूकम्प सुरक्षा दिवस मुल आयोजक समितिका संयोजक गृहमन्त्री रामबहादुर थापा रहेका छन् भने नगरपालिकाको उपसंयोजनमा दिवसको आयोजना गर्न लागिएको हो । कार्यक्रममा भर्चुअल माध्यमबाट पनि सहभागी हुन सकिने जनाइएको छ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरणलाई दिगो र परिणाममुखी बनाउन सरकारको तर्फबाट योजनाबद्ध प्रयत्न गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । २३औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भूकम्पलगायतका विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबै निकाय र नागरिकबीच सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट