थारू समुदायले माघी मनाउँदै, यस्तो छ महत्व

प्रकाशित मिति: १ माघ २०७७, बिहीबार

काठमाडौं । थारू समुदायले आज माघी पर्व मनाउँदै छन्। थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँने गर्दछन् ।

सरकारले वि.सं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । वि.सं २०७२ देखि भने माघ १ गतेलाई थारू समुदायले अझ बृहत्रूपमा मनाउन थालेका छन्। माघी पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात माघी पर्व हो। बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायमा छ। थारु बस्तीमा बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाइन्छ। धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने प्रचलन छ।

आजदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यतासमेत छ। विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ ।

थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराइका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारू समुदायमा छ। तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ।

गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने, आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने परम्परा छ । धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनोट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारू जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट