बामदेवले गरे ‘पार्टी सचिवालय बैठक बोलाउन र ओलीले राजीनामा दिन’ माग

प्रकाशित मिति: १२ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले संसद् विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् ।

गौतमले आज प्रेस विज्ञप्ति सार्वजनिक गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका हुन् । सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको फैसलालाई गौतमले ऐतिहासिक भनेका छन् ।

संसद् विघटन बदर भएको दिनलाई उनले निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिनको रुपमा उल्लेख गरेका छन् ।

गौतमले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क.केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’

गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट