आज ‘क्रिसमस डे’ मनाईंदै

प्रकाशित मिति: १० पुष २०७७, शुक्रबार

काठमाडौं । ईसाइ धर्मावलम्बीहरुले आज विशेष उल्लासका साथ ‘क्रिसमस डे’ मनाउँदै छन् । यो वर्ष कोरोना भाइरसको महामारीका कारण विश्वभर जस्तै नेपालमा पनि क्रिसमसका अवसरमा भिडभाडयुक्त कार्यक्रम नभए पनि साना समूहहरुमा भेला भई प्राथर्ना गरेर शुभकामना आदानप्रदान गरी मनाईंदै छ ।

हरेक वर्ष डिसेम्बर २५ मा विश्वभरका ईसाइ धर्मावलम्बीहरुले महान पर्वका रुपमा परिवारसँग भेला भएर ‘क्रिसमस डे’ मनाउने गरेका छन् । क्रिसमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी यशु ख्रीष्टको सम्झना गरिँदैछ ।

काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत ठाउँमा क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ । ‘क्रिसमस डे’ का अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा समेत दिएको छ ।

‘क्रिसमस डे’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक उत्सव एवम् चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट