अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा पैसा नकाटिने

प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो ।

बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेका थिए। तर, लकडाउन अन्त्य भएसँगै साउन १ गतेदेखि केही बैंकले पुनः शुल्क लिन थालेका थिए ।

केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थाअनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क नलिन भनेको हो ।

यस्तै एटीएम कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अघि नै त्यसको जानकारी ग्राहकलाई दिनुपर्ने र कार्ड नवीकरण शुल्कका बारेमा समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । कार्डबाट एक पटकमा २५ हजार र दैनिक एक लाख रुपैयाँसम्म रकम झिक्न पाउने व्यवस्था कायमै रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट