आज श्रीकृष्ण जन्माष्टमी, कोरोनाले कृष्ण मन्दिर सुनसान

प्रकाशित मिति: २७ श्रावण २०७७, मंगलवार

काठमाडौं । हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीले मनाउने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाईदै छ ।

श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । श्रीकृष्ण जन्माष्टमीमा देशैभरका कृष्ण मन्दिरहरुमा कृष्णको पूजा आराधना गर्ने गरिएकोमा यो वर्ष कोरोना संक्रमणका कारण कृष्ण मन्दिरहरुमा सर्वसाधारणहरुको संख्या नगन्य छ।

विशेषगरी ललितपुरको मंगलबजारमा रहेको कृष्ण मन्दिरमा आज कृष्णको रथयात्रा र शोभायात्रा गर्ने प्रचलन रहे पनि यस वर्ष कोरोनाका कारण स्थगित गरिएको छ । स्थानीय जनप्रतिनिधि, पुजारी, मंगल टोल सुधार संघ, प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला व्यक्तिहरु बसेको बैठकले पाटन कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । दुर्जनको विनाश र सज्जनको रक्षा लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ।

कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना सन्देश दिएकी छन्।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट