देशभरका होटलहरु आजबाट खुले

पर्यटक तान्न व्यवसायीद्वारा छुटको घोषणा

प्रकाशित मिति: १५ श्रावण २०७७, बिहीबार

काठमाडौं । सरकारले साउन १५ गतेदेखि होटलहरु खोल्न पाउने निर्णय गरेपछि आजबाट देशभरका होटलहरु खुलेका छन् ।

देशमा जारी लकडाउनका कारण विगत ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका हुन् । कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरु पनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गर्दै व्यवसायीहरुले आजबाट होटलहरु खोलेका हुन् ।

आजैबाट पर्यटकीय नगरी पोखरा र चितवनको सौराहा होटलहरु पनि खुलेका छन् । पर्यटकीय प्रमुख गन्तव्यको रुपमा रहेको पोखराका होटेल व्यवसाय आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै खुल्ने पोखरा होटेल व्यवसायी संघले जनाएको छ । होटल संघ नेपाल हानले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटलहरु सञ्चालनमा ल्याउन लागिएको हानले जनाएको छ ।

आन्तरिक पर्यटकलाई लक्षित गरी व्यवसायीले छुट प्याकेजको घोषणासहित करिब चारमहिनापछि होटल सञ्चालनमा ल्याएका हुन्। क्षेत्रीय होटल संघ सौराहाले एक सूचना जारी गर्दै सरकारले दिएको निर्देशन र नियम पालना गरेर होटल व्यवसाय सञ्चालन गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरेको थियो।

व्यवसायी सोही सूचनाअनुरुप होटल सरसफाइ र स्वास्थ्य सावधानीका उपाय अवलम्बन गर्ने तयारीमा जुटेका छन्। होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड-१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ।

यस्तै पर्यटकलाई अनिवार्य मास्क प्रयोग गर्न लगाउने, सम्पूर्ण पर्यटकको फोन नम्बरसहित सम्पूर्ण विवरण राख्नुपर्ने, १०० डिग्रीभन्दा बढी ज्वरो आएको पर्यटकलाई नजिकको स्वास्थ्य चौकीमा पठाउनुपर्ने वा सम्बन्धित निकायमा खबर गर्नुपर्ने र पर्यटक बसेको कोठा अनिवार्यरुपमा ४८ घण्टा खाली राख्नुपर्ने वा स्यानिटाइज गर्न सम्पूर्ण व्यवसायीमा आग्रह गरिएको संघले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट