कांग्रेस सांसद् ज्ञानकुमारी छन्त्यालको निधन

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने

प्रकाशित मिति: १७ असार २०७७, बुधबार

काठमाडौं । बुधबारको संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएकाले आजको बैठकमा शोक प्रस्ताव मात्रै प्रस्तुत हुने संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा समानुपातिक सांसद रहेकी ६६ वर्षीया छन्त्यालको काठमाडौंस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारका क्रममा बुधबार बिहान निधन भएको हो। छन्त्याल बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर १ बुर्तिवाङकी हुन्।

उनी प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद थिइन्। उनी संसदको कृषि, सहकारी, वातावरण र पशुपंक्षि समितिमा सदस्य थिइन्। छन्त्याल बहालवाला सांसद भएकाले संसद बैठक तोकिएको समयमै सुरु हुने छ र शोक प्रस्ताव पारित गर्दै सकिने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश गर्दैन ।

यसअघि संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सेवा विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने लगायतका विषय उल्लेख थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट