नयाँ नक्सा जारी गरेकै कारण भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्दै छ : ओली

प्रकाशित मिति: १४ असार २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र नेपालका नेताहरु मिलेर आफूलाई प्रधानमन्त्री पदबाट हटाउन लागिपरेको दाबी गरेका छन् । लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको उनले दाबी गरेका हुन् ।

मदन भण्डारीको ६९औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको स्मरण गर्दै अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईहरुले सुन्नुभएको हुनुपर्छ, हप्ता १५ दिनभित्र प्रधानमन्त्री परिवर्तन गरिँदैछ भनेर, भारतका मिडिया सुन्नुभएको होला,’ उनले भने, ‘भारतका बौद्धिक बहस सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ।’ उनले भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

भारतले नबनाऊ भन्दाभन्दै संविधान बनाएको र त्यसकै कारण नाकाबन्दीको सामना गरेको सन्दर्भ उल्लेख गर्दै उनले आफूलाई प्रधानमन्त्रीमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ति नगरेको’ बताए।

उनले भने, ‘मलाई पदमा बसिरहन मन छैन, तर यतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले गर्दैन, त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, म देशका लागि हो।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट