किसानहरुलाई कृषि मन्त्रालयको आश्वासन ‘सलहबाट जोगिन सकिन्छ, धेरै चिन्ता नगर्नुस्’

प्रकाशित मिति: १४ असार २०७७, आईतवार

काठमाडौं । कृषि मन्त्रालयले नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै किसानहरुलाई नआत्तिन आग्रह गरेको छ ।

केही साता अघि भारतको बंगालमा देखिएको वनस्पति नाशक किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै शनिबार नेपालमा प्रवेश गरेपछि किसानहरु चिन्तित बनेका थिए । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सलह किराको प्रकोपबाट जोगिन सकिने उल्लेख गर्दै यसबाट धेरै नडराउन किसानलाई आश्वासन दिएका छन् ।

मन्त्री साहले आइतबार विज्ञप्ति जारी गर्दै सलहबाट जोगिन ड्रम वा थाल ठटाएर बालीनालीको क्षेत्रबाट अन्यत्र धपाउन सकिने भएकाले किसानहरुरलाई धेरै चिन्ता नलिन आग्रह गरेका हुन् । यता भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग पनि समन्वय गर्ने भएको छ ।

कृषि मन्त्रालयमा आइतबार गरिएको छलफलमा विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । कृषि मन्त्रालयले गृह र विपद व्यवस्थापन समितिसँग सम्बन्धित समितिसँग समन्वय गरेर सलहलाई नियन्त्रण गर्ने जनाएको छ । गृह र विपदसँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किनुपर्ने भए ड्रोन, ट्यांकर लगायतको व्यवस्था गरिने कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिए।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट