रुकुम घटनाका २३ आरोपी पुर्पक्षका लागि थुनामा

किशोरीलाई बालसुधार गृह पठाइयो

प्रकाशित मिति: १० असार २०७७, बुधबार

रुकुम । रुकुम पश्चिमको चौरजहारी घटनाका २३ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

जिल्ला अदालत, रुकुमका न्यायाधीश विद्याराज पौडेलको इजलासले ६ दिनको बहसपछि बुधबार साँझ २३ जना अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने, दुई जनालाई सुधार गृहमा, तीन जनालाई साधारण तारेखमा छोडेको र एक जनासँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्ष डम्बर बहादुर मल्ल, युवतीका दाई सन्तोष मल्ल, डिल्ली मल्ल, प्रेमबहादुर ठकुरी, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, तिलक चन्द, नेत्रबहादुर मल्ल र रेशमबहादुर मल्ल, विष्णु मल्ल, तुलाराम घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, डिल्ली घर्ती, विराज पुनमगर, सबिन पुन, रमित पुनमगर, नविनकुमार जीएम, धनाराज राना, दीपेन्द्र चन्द र भीमबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

अदालतको आदेशअनुसार इन्द्र बहादुर मल्ल, तुल बहादुर मल्ल र दिपेन्द्र चन्द साधारण तारेखमा छुटेका छन् भने प्रेमिका भनिएकी किशोरीलाई भक्तपुरको बालसुधार गृहमा र अर्का एक किशोरलाई नेपालगन्जस्थित बाल सुधार गृहमा पठाइएको छ। घटनामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् ।

पीडितको तर्फबाट २५ जना वकिलले अदालतमा बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट ७ जनाले बहस गरेका थिए । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए ।

त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच भएको झडपमा युवतीका प्रेमी नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय, रुकुमले गरेको अनुसन्धानमा भाग्दै गरेको नवराजको समूहलाई योजनाबद्ध रुपमा बाटोमा छेकेर हत्या गरेको खुलेको थियो । मृतकहरुलाई सोतीका गाउँलेले कुटेर भेरी नदीमा फ्याँकेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट