आज खण्डग्रास सूर्यग्रहण लाग्दै, यी राशिलाई कष्ट र फल मिल्ने

प्रकाशित मिति: ७ असार २०७७, आईतवार

काठमाडौं । आज आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहण बिहान १० बजेर ५० मिनेट बाट सुरु भई दिउँसो १२ बजेर ३८ मिनेट जाँदा मध्य र दिउँसो २ बजेर २३ मिनेटमा सूर्यग्रहण समाप्त हुनेछ । तीन घण्टा ३३ मिनेटसम्म लाग्ने आजको सूर्यग्रहण नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने छ भने काठमाडौंबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने बताइएको छ ।

आइतबारको ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट बलय सूर्यग्रहण देख्न सकिने तथा नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिनेछ । अबको करिब ४४ वर्षपछि मात्रै नेपालबाट बलय सूर्यग्रहण देखिनेछ ।

धार्मिक मान्यताअनुसार यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरु भने सूर्यग्रहण जो–कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्छन् । आइतबारको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए ।

आजको सूर्य ग्रहण मेष राशिलाई श्रीप्राप्ति, वृष राशिलाई क्षति, मिथुनलाई घात, कर्कटलाई व्यय, सिंह राशिका मानिसलाई लाभ, कन्या राशिलाई सुख, तुला राशिलाई माननाश, वृश्चिक राशिलाई कष्ट, धनु राशिलाई स्त्रीपीडा, मकर राशिलाई सुख, कुम्भलाई चिन्ता र मीनलाई व्यथाको फल हुने उल्लेख छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने गर्छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । शास्त्रीय मान्यताअनुसार असार ६ गते राति १० बजेर ५० मिनेटदेखि नै बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट